नेपालको लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लामा पर्ने राजापुर नगरपालिका भौगोलिक हिसाबले २८ २१" २५.१६' देखि २८ २९' ४३" उत्तरी आक्षांश र ८१ ३' २५.६३'' देखि ८१ १२' ५२" सम्म पूर्वी देशान्तरसम्म फैलिएको छ । समुद्र सतहबाट १४२ मिटर देखि १५४ मिटर सम्मको उचाइमा अवस्थित राजापुर नगरपालिका ऐतिहासिक तथा धार्मिक महत्व बोकेको एउटा प्रमुख कृषि क्षेत्र हो । १२७.०८ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस नगरपालिकाको उत्तरमा गेरुवा गाउँपालिका र कैलाली जिल्ला, पश्चिमतिर कैलाली जिल्ला, दक्षिणमा भारत र पूर्वमा मधुवन नगरपालिका रहेका छन् ।
राजापुर नगरपालिकालाई २०७१ पौष २५ गते साविकको दौलतपुर, नयाँगाउँ, राजापुर, बदलापुर, भिम्मापुर र मानपुर टपरा गा.वि.स. समावेश गरी १९ वडा सहितको राजापुर नगरपालिका घोषणा गरीएको थियो भने मिति २०७३ फागुन २२ गते साविकको राजापुर न.पा. र खैरिचन्दनपुर गा.वि.स. समावेश गरि जम्मा १० वडा कायम गरेको छ । यस नगरपालिकाको नाम राजापुर रहनुको कारण विभिन्न जनविश्वास र ऐतिहासिक पृष्ठभुमि रहेका छन् । कहिले गोलामण्डी, कहिले राजापुर नाम भएको यस ठाउँमा राजाराम कुर्मीको नामबाट राजापुर भएको हो भन्ने कथन रहेको छ भने अर्को कथन अनुसार यस ठाउँमा पहिला ठकुरी जातिका राजारजौटाहरुले बसोबास गर्थे पछि राजा राजा हुंदै राजापुर भएको हो भन्ने विश्वास पाइन्छ । नगरपालिकामा पठनपाठनका लागि २९ वटा आधारभुत (१–५), ९ वटा आधारभुत (१–८), ६ वटा मा.वि. (१–१०) र ६ वटा मा.वि. (१–१२) गरी जम्मा ५० वटा विद्यालय र ७५ वटा बालविकास केन्द्रहरु शिक्षण संस्थाहरु रहेका छन् ।
बर्दिया जिल्लामा नयाँ गठन भएका नगरपालिकाहरुमा धेरै सम्भावना बोकेको नगरपालिकाको रुपमा राजापुर नगरपालिका त छँदैछ यसका अतिरीक्त सचेत राजनैतिक दल र उत्प्रेरीत नगरवासी समेत यो नगरपालिकाका दरिलो अनि दीगो विकासको श्रोतका रुपमा रहेका छन् । यस नगरपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ । घरधुरी तथ्याङ्क संकलन खानेपानि, सररफाइ तथा स्वच्छता योजना २०७७ अनुसार कुल जनसख्या ६९,८७३ मध्ये महिला ३४५६१ र पुरुष ३५३१२ छन । यस नगरपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ । सबैभन्दा बढी तराई जनजाति ५६,६६७ जना (८१.१%), दोस्रोमा पहाडी ब्राम्हण÷क्षेत्री ७,३३७ (१०.५%) र तेस्रोमा पहाडी दलित २,५२२ (३.६१%) हरुको बसोबास रहेको छ । शहरी र ग्रामिण क्षेत्रको रुपमा रहेको नगरमा ब्यापार, उद्योग, कलकारखाना, प्राकृतिक श्रोत तथा सामाजिक महत्वका क्षेत्रहरु रहेका छन् ।
औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अर्को मुख्य श्रोतको रुपमा वैदेशिक रोजगारी पनि एक हो । परम्परागत प्रणालीको कृषि व्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक जीवनशैलीमा समेत रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम अत्यधिक बढिरहेको छ । विगतमा योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस नगरपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, माघि, होलि, गौरा, कृष्णजन्माष्टमी, बकरइद, आईतबारी, छठपर्व, बुद्धजयन्ती, क्रिष्मस आदि यहाँका प्रमुख चाडपर्वको रुपमा रहेको पाईन्छ ।